पोक्जरा १ कार्तिक २०८२।
नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले २२ प्रदर्शनकारीको मृत्यु भएको रिपोर्ट प्रस्तुत गरेको हो ।
बाँकी मृतकमा तीन जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिए । आन्दोलन चारसय ८४ स्थानमा भएको पनि उनले बताए ।
नेपाली सेनाका अनुसार छ सय ८८ वटा सरकारी कार्यालय, दुईसय ५९ वटा निजी निवास, एकसय २८ वटा व्यापारिक प्रतिष्ठान, एकसय ९८ वटा राजनीतिक दलका कार्यालय, तीनसय सात वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । यस्तै आन्दोलनका क्रममा १५ हजार ८८ जना कैदीबन्दी भागेकामा हालसम्म हजार ९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ ।
सेनाले आन्दोलनकै क्रममा नौसय ७८ थान हतियार हराएकोमा पाँचसय ८६ वटा फिर्ता गराइएको पनि आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
सेनाको युद्धकार्य विभागले भनेको छ, ‘अन्य सुरक्षा निकायका नौसय ७८ नाल हतियार लुटिएकोमा हालसम्म पांच सय ८६ नाल हतियार फेला परेका तथा फिर्ता भएका छन्।’
फिर्ता गरिएका हतियार सम्बन्धित सुरक्षा निकायलाई नै फिर्ता गरिरहेको पनि युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले बताए।
उपरथी थापाका अनुसार उपत्यकाभित्र नेपाली सेनाले प्राप्त गरेका मध्ये दुईसय ७४ नाल नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ। १२ नाल सशस्त्र प्रहरीलाई बुझाइएको पनि सेनाले जानकारी दिएको छ। यस्तै उपत्यका बाहिरबाट पनि नेपाली सेनाले हतियार फिर्ता लिएको छ।
उपत्यका बाहिर ७९ नाल हतियार प्रहरीलाई बुझाइसकेको छ। थप ६५ वटा हतियार पनि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सेनाले जानकारी दिएको छ।
जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लुटेका हतियार आन्दोलनकारीले नेपाली सेनालाई बुझाएका थिए। केही हतियार भने सेनाले बरामद गरेको थियो।
यस्तै नेपाल प्रहरीले पनि विभिन्न स्थानबाट हतियार बरामद गरिरहेको छ। अहिलेको प्रमुख सुरक्षा चुनौती यीनै लुटिएका हतियार रहेकाने भन्दै प्रहरीले खोजतलासलाई तिब्र बनाउने भएको छ।
असोज मसान्तसम्म फिर्ता गरे कारबाही नगर्ने भनेको प्रहरीले कात्तिक एक गतेबाट खोजतलासलाई तिब्रता दिने भएको छ। अब प्रहरीको प्रमुख अप्रेसन नै फरार कैदीबन्दी, हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार खोज्न चलाउने भएको छ।
नेपाली सेनाले पनि अन्य सुरक्षाकर्मीका हतियार फिर्ता गराउनका लागि सहयोग गर्न आग्रह गरेको छ।