काठमाण्डौ, २४ असोज २०८२।
मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार एआईजीमा बढुवा भएका चार अधिकृतको पदस्थापन भएको छ भने तीन जना डिआईजिहारुको सरुवा गरिएको छ। ।
प्रहरी प्रधान कार्यालयमा बुधबार बढुवा भएका चार एआईजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर विकलाई दर्ज्यानी चिह्न प्रदान गर्दै पदस्थापन गरिएको हो । जसअनुसार राठौरलाई अपराध अनुसन्धान विभाग, चतुर्वेदीलाई कार्य विभाग, श्रेष्ठलाई प्रशासन विभाग र विकलाई प्रदेश समन्वय विभाग पठाइएको छ ।
बढुवा भएका एआईजीहरूलाई आईजीपी चन्द्रकुवेर खापुङले बधाई दिँदै संगठनको वृहत्तर हित र सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिए ।
यता तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको भने सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रबार तीन डीआईजीको सरुवा भएको हो ।
सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत रहेका गोविन्द थपलियाको मधेश प्रदेशमा सरुवा भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत ओमबहादुर रानाको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।
केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका विनोद घिमिरेको प्रबन्ध निर्देशनालयमा सरुवा भएको छ ।