श्रेस्ता किताब च्यातेर सुकुम्बासी बस्ती व्यक्तिको नाममा दर्ता : मिलेमतो गर्ने मालपोतका तीन कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

श्रेस्ता किताब च्यातेर सुकुम्बासी बस्ती व्यक्तिको नाममा दर्ता : मिलेमतो गर्ने मालपोतका तीन कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ असोज २०८२
  • 38.2K
    Shares

पोखरा, २४ असोज २०८२।

मोरङ सुनबर्षी नगरपालिका-६ मा लामो समयदेखि सुकुम्बासीहरु बस्दै आएको सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ।

२० घर सुकुमबासी बस्दै आएको सुनवर्षी-६ को कित्ता नम्बर ११० को जग्गा खाली गर्न डोजर पुगेपछि स्थानीयको बिरोध भएपछी शुरु गरिएको प्रहरी अनुसन्धानमा उक्त जग्गा रंगेली मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएव्को खुलेको हो।

सुकुम्बासीहरु २० वर्षदेखि बसिरहेको १७ कठ्ठा २ धुर क्षेत्रफ़ल रहेको सुनवर्षी-६ को कित्ता नम्बर ११० को जग्गा भीमप्रसाद सिंहले आफ्नो भएको भन्दै सुकुम्बासी बस्ती खाली गर्न प्रहरीसहित डोजर लिएर उक्त बस्तीमा पुगेका थिए। लामो समयदेखि आफूहरु बसिरहेको जग्गा व्यक्तिको नाममा भएको थाहा पाए पछि सुकुम्बासीहरुले बिरोध गरेका थिए।

सुकुम्बासीहरुको बिरोध पछि प्रहरीले शुरु गरेको उक्त जग्गा दर्ता सम्बन्धि अनुसन्धानका क्रममा रंगेली मालपोत कार्यालयका कर्मचारीको सेटिङमा भीमप्रसाद सिंहले दर्ता खुलेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

सो प्रकरण बाहिर आएपछि अनुसन्धानका लागि मोरङ जिल्ला अदालतले रङ्गेली मालपोत कार्यालयका मालपोत कार्यालय रंगेलीका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी र कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र सिंहलाई पक्राउको अनुमति दिएको छ ।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मालपोत कार्यालयका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गाधनी भीमप्रसाद सिंहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको बताए ।

सुकुमबासीहरूले इलाका प्रहरी कार्यालय रंगेलीमा बुधबार ‘लिखित सम्बन्धी कसुर’मा किटानी जाहेरी दर्ता गराएका थिए ।

मालपोतका कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर जग्गाको अभिलेख राखिने मूल ढड्डा (स्रेस्ता) को सक्कली पाना च्यातेर भीमप्रसाद सिंहको नाममा नक्कली अभिलेख टाँसेको पाइएको छ ।

रंगेली मालपोत प्रमुख सुनील पौडेलले कीर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा धनीपुर्जा बनेको देखिएको बताए ।

पौडेलले मालपोत कार्यालयको अभिलेखमा २०५८ सालमा भीमले जग्गा प्राप्त गरेको देखिएको बताए । उनले भने, ‘२०७३/०७४ सालको स्रेस्तामा २०५८ सालमा राजीनामा पास गरेको अभिलेख छ । यो प्राविधिक र कानूनी दुवै हिसाबले असम्भव छ । यो शतप्रतिशत कीर्ते हो ।’

मोरङका सीडीओ इन्द्रदेव यादवले यो विषयमा अनुसन्धान भइरहेको बताए । सत्य तथ्य लेखी पठाउन मालपोत कार्यालयलाई २४ घण्टाको समय दिइएको उनको भनाइ छ ।

कर्मचारी, गार्ड र भूमाफिया मिलेर बन्यो योजना

जग्गा कब्जा गर्न मुख्य भूमिका खेलेका भनिएका सुरक्षा गार्ड कामदेव मण्डलले नासु रेवती अधिकारी र कम्प्युटर अपरेटर अर्जुन न्यौपानेलाई आर्थिक प्रलोभन दिएर श्रेस्ता नै परिवर्तन गर्न लगाएका थिए।

पीडितहरूको भनाइमा भूमाफिया सिंहको आपराधिक पृष्ठभूमि पनि रहेको छ। उनी लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।

बुधबार, पीडितहरूले मालपोतका नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने, सुरक्षा गार्ड कामदेव मण्डल र भीमप्रसाद सिंहविरुद्ध ‘लिखितसम्बन्धी कसुर’मा किटानी जाहेरी दर्ता गराएका छन्।

आरोपित नासु रेवती अधिकारीले आफू एक वर्षअघि मात्रै सरुवा भई आएको र पहिले नै बनेको पुर्जाको प्रतिलिपिमा हस्ताक्षर मात्र गरेको दाबी गरेका छन्।

रंगेली मालपोत प्रमुख पौडेलका अनुसार संलग्न कर्मचारीहरूलाई स्पष्टिकरण सोधिएको छ र विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ। घटनामा संलग्न गार्ड मण्डल भने घटना बाहिरिएलगत्तै फरार छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार