पोखरा, २४ असोज २०८२।
जेन जी आन्दोलनमा डोजरसहित सहभागी हुने क्रममा गोली लागेर गम्भीर घाइते भएका डोजर चालक लक्ष्मण नेपालीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ।
कास्कीको मादी गाउँपालिका घर भइ हाल पोखरा–१३ घर ठेगाना बताउने नेपाली गएको भदौ २४ गते साँझ आफूले चलाउने डोजरसहित जिल्ला प्रहरी कार्यालय कास्कीभित्र प्रवेश गर्न खोज्दा गोली लागेर गम्भीर घाइते भएका थिए। घाँटीभन्दा मुनि गोली लागेका डोजर चालक नेपालीको साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो
हातखुट्टा नचल्ने अवस्थामा रहेका डोजर चालक नेपालीको राम्रो र सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्न आबश्यक देखिए पछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशन प्राडा प्रेमराज पंगेनीले जानकारी दिए ।
उनी हेभी इक्युपमेन्ट कार्यालय पोखराबाट डोजर, रोलर र ट्रिपरहरू निकालेर सडकमा चलाउँदै हिँडेका थिए । सोही क्रममा पृथ्वीचोक हुँदै साँझ जिल्ला प्रहरी कार्यालयमा डोजरसहित पुगेका थिए । सोही क्रममा नेपाली गोली लागेर घाइते भएपछि उग्र भएको भिडले प्रहरीलाई विस्थापित गर्दै कार्यालय आगजनी गरेको थियो ।