पोखरा,८ असोज २०८२।
नेपाली काँग्रेस गण्डकीका क्षेत्रीय सभापतिहरुले पार्टीको केन्द्रीय विशेष महाधिवेशन माग गरेका छन् । मंगलबार पोखरामा बसेको सभापतिहरुको बैठकले तत्काल महाधिवेशनको मिति घोषणा गरी गतिविधि अघि बढाउन माग गरेको हो । ‘अन्यौलको समयमा नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक तत्काल डाक्न आग्रह गरिएको छ ।
बैठकमा प्रदेशभरिबाट पांच जना मात्रै सभापति सहभागी थिए । १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा पांच वटा जिल्लामा क्षेत्रीय समिति छैन । बाँकी १३ सभापतिमध्ये अधिकांशले कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेको बताएका कास्की १ का सभापति राजेन्द्रमणि लामिछानेले जानकारी दिए।
बैठकमा राजेन्द्रमणि लामिछाने, क्षेत्र नम्बर २ का सभापति केशर निर्दोषी, तनहुँ १ का सभापति श्यामकुमार मौरती, २ का सभापति चूडामणि खनाल र बागलुङ २ का सभापति जोकलाल बुढा उपस्थित थिए ।
कास्की ३ का सभापति मनोज गुरुङ भने उपस्थित भएनन् । ‘फोन आएको थियो । मैले हिजै भनेको थिएँ । यसै पनि महाधिवेशन हुँदैछ । अहिले किन विशेष चाहियो ?,’ उनले भने, ‘अधिवेशनको समय पनि हुँदैछ । बरु केन्द्रले गर्ने निर्णय स्वीकारेर अगाडि बढौंला भनेको छु ।’ देश अप्ठ्यारोमा परेको बेला पार्टी एकताबद्ध हुनुपर्ने उनले बताए ।
केही क्षेत्रीय सभापतिहरु चाहिँ केन्द्रीय सभापति अस्पतालमै भएको अवस्थामा विशेष महाधिवेशन कुरा उठाउनु उचित नहुने तर्क गरिरहेका छन् । त्यसअघि कास्की क्षेत्र १ को छुट्टै बैठकले पनि केन्द्रीय विशेष महाधिवेशन माग गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए ।