पोखरा, ३१ भदौ २०८२ ।
सैनिक बोकेर धनुषातिर जाँदै गरेको तनहुँस्थित नम्बर २ राजदल गणको ट्रक आज दिउसो मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक दुर्घटना हुँदा १६ जना सैनिक घाइते भएका छन्।
तनहुँस्थित नम्बर २ राजदल गणबाट सैनिक बोकेर धनुषातिर जाँदै गरेका चार वटा ट्रक मध्ये लु १ ग २८० नम्बरको ट्रक मंगलबार दिउँसो करिब २:५० बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चुरियामाई पुलबाट करिब १२ फिट तल खोल्सामा खसेर दुर्घटनाग्रस्त हुँदा १६ जना सैनिक घाइते भएका हुन्।
दुर्घटनामा घाइते भएका १६ जना सैनिक मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ट्रकमा चालकसहित २२ जना सैनिक सवार थिए।
घाइते सैनिकहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । तीन जनाबाहेक घाइते १३ जनाको अवस्था खतरामुक्त छ।