पोखरा, ३१ भदौ २०८२ ।
भारतको सिमलामा पिकअप जिप भीरबाट खसेर दुर्घटनाग्रस्त हुँदा एकैघरका तीनसहित चारजना नेपालीको मृत्यु भएको छ।
हिमाञ्चल प्रदेशको राजधानी सिमलास्थित कोटखाई नजिक कुड्डु नालामा सोमबार भएको उक्त दुर्घटनामा सल्यानको कुमाख गाउँपालिका- ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका एकैघरका तीनसहित चारजना नेपालीको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा सल्यानको कुमाख- ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो। सोहि दुर्घटनामा परेर जिप चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएकाे छ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन्। नवराज र हिमबहादुर गाडीकाे ढाला पछाडि बसेकाले फाल हानेर ज्यान जाेगाएका छन्।
ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छाेरा हुन्।
प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो ।
घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ ।
भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले बताएका छन् ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ।
मृतक सबैकाे पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ। मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएकाे मल्लले बताए।