विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल भेटियो

विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० भाद्र २०८२
  • 6.2K
    Shares

विराटनगरस्थित ध्वस्त भाटभटेनी सुपरमार्केट

पोखरा, ३० भदौ २०८२।

विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटमा आज जलेको अवस्थामा एक मानव कंकाल भेटिएको छ।

दिउँसो २:३० बजेतिर मार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरु भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए। मार्केटको सरसफाइ गर्ने क्रममा कर्मचारीहरूले कंकालहरू फेला पारेर प्रहरीलाई खबर गरेका बताइएको छ ।

भाटभटेनीमा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट भएको थियो। आगलागीका बेला चोरीको प्रयासमा गएका व्यक्तिको जलेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनास्थलमा पुगेर एसपी चिमरिया नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ। फेला परेको कंकाल कोशी अस्पतालमा परीक्षणका लागि लगिएको प्रहरीले जनाएको छ। कंकालको पहिचानको प्रयास भइरहेको र अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने एसपी चिमरियाले बताए।

यसअघि धरानस्थित भाटभटेनीमा पनि ४ जनाको शव भेटिएको थियो। जेनजी आन्दोलनको नाममा विराटनगर, धरान, दमक र बिर्तामोडस्थित भाटभटेनीका शाखाहरूमा आगजनी, लुटपाट र तोडफोड भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार