पोखरा, ३० भदौ २०८२।
नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषकोबारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्ने जानकारी दिए। । ‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ,’ उनले भनेका छन्,’ आक्रोशको कारणले क्षति भयो । तर अब हामीले नै यो बनाउने हो ।’
मन्त्री घिसिङले आन्दोलनका क्रममा भौतिक संरचना, सवारीसाधन, फर्निचर, कागजात र अन्य सम्पत्ति क्षति भएकाले त्यसको ड्यामेज एसेसमेन्ट (क्षति मूल्याङ्कन) तत्काल शुरु गर्न निर्देशन दिए।
उनले विशेषज्ञ टोली परिचालन गरी तीन दिनभित्र क्षति विवरण सङ्कलन गर्ने र त्यसलाई आधार मानेर एक हप्ताभित्र पुनर्निर्माण तथा पुनर्स्थापना कार्ययोजना तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतका लागि पेस गर्ने बताए।
घिसिङले भने, ‘राज्यले आफ्नो तर्फबाट योगदान त गर्छ नै, तर हाम्रो स्रोत–सामर्थ्य सीमित छ। त्यसैले देशभित्र र विदेशमा रहेका नेपाली स्वयंसेवक तथा सहयोगी समुदायबाट समेत योगदान सङ्कलन गर्न सकिने सम्भावना गहिरो छ। आवश्यक परे क्राउड फन्डिङ मार्फत आर्थिक स्रोत जुटाइनेछ, र सङ्कलित रकम विशुद्ध रूपमा सरकारी संरचनाको पुनर्निर्माणमा खर्च गरिनेछ।’
यसका लागि मन्त्रालयले दुई वटा फाइल तयार गरेको छ । पहिलो, क्षति मूल्याङ्कन र कार्ययोजना स्वीकृति प्रक्रिया अघि बढाउने र दोस्रो, पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने प्रणाली कार्यान्वयन गर्ने रहेका छन् ।