को को समाबेश होलान त अन्तरिम सरकारमा ?

को को समाबेश होलान त अन्तरिम सरकारमा ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ भाद्र २०८२
  • 8.3K
    Shares

पोखरा, २९ भदौ २०८२।

जेन जी आन्दोलनको शक्तिको आडमा छ महिनाभित्र नेपालमा चुनाब गराउने म्यान्डेट लिएर पूर्व प्रधानन्यायधिश सुशिला कार्कीको नेतृत्वमा गठित अन्तरिम मन्त्री परिषदमा को को सहभागी हुन्छन होला भनेर आम नेपाली जनतामा चासो बनिरहेको छ।

गएको शुक्रबार अन्तरिम प्रधानमन्त्रीको रुपमा सपथ लिएकी कार्कीले आज आफ्नो पद बहाल गरेकी छिन। पूर्व प्रधानन्यायधिश कार्की आफुले अन्तरिम प्रधानमन्त्री पदमा बहाली गरेसंगे जतिसक्दो छिटो आफ्नो मन्त्रीपरिषद बिस्तार गर्ने तयारीमा लागेकी छिन।

त्यसै त देशको कमजोर आर्थिक अवस्था, त्यसमा पनि जेन जी आन्दोलनका कारण खरबौ रुपियाँका भौतिक संरचना ध्वस्त भएको अवस्थामा छ महिनाभित्र ध्वस्त भौतिक पुनर्संरचना पुनर्निर्माण गरेर चुनाब गराउनु पर्ने चुनौती स्वीकार गरेकी अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीका लागि सरकार बिस्तार पनि फलामको च्युरा चपाए जस्तै भएको छ।

नेपालको इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री बनेकी कार्कीले महान्यायधिबक्तामा सबिता भण्डारीलाई नियुक्त गरेर सरकार समाबेशी बनाउने संकेत दिएकी छिन। उनले एकातिर केपी शर्मा ओली नेतृत्वको झन्डै दुई तिहाई भएको बहुमत भएको सरकारलाई दुई दिनभित्र विस्तापित गर्न सफल जेन जी आन्दोलनका नेताहरुलाई आफ्नो सरकारमा समाबेश गराउन पर्नेछ भने अर्कातिर आदिबासी , जनजाति र सीमान्तकृत जातिको पनि सरकारमा सहभागी गराउनै पर्ने परिस्थिति छ। यस्तो विषम र अप्ठ्यारो परिस्थितिमा अन्तरिम प्रधानमन्त्री कार्कीले आफ्नो सरकार बिस्तार गर्न लागि परेकी छिन।

समाचार स्रोतहरुका अनुसार, प्रधानमन्त्री कार्कीले आफ्नो सरकारमा अनुभवी पूर्व प्रशासकहरुलाई समाबेश गराएर आफूलाई प्राप्त म्यान्डेट पुर्याउने मनस्थिति बनेकी छिन। प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्री परिषदमा नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाललाई अर्थमन्त्री बनाउने सोंच बनाएकी छिन।

प्रधानमन्त्री कार्की नेपालबाट लोडसेडिङ्ग हटाएर जनताको वाहवाही पाएका उज्यालो नेपाल अभियानका अभियन्ता एबम नेपाल बिद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई उर्जा मन्त्रीको जिम्मेवारी दिन तैयार भएकी छिन। घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइने भएको छ ।

प्रधानमन्त्री बन्न जेन जी आन्दोलनका अभियन्ताहरुले गरेको प्रस्ताबलाई अस्वीकार गरेका काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहको सल्लाहमा महानगरका कानुनी सल्लाहकार बरिष्ठ अधिबक्ता ओमप्रकाश अर्याल कानून मन्त्री बन्ने पक्कापक्की जस्तै भएको छ।

गृहमन्त्रीमा भने नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेल वा महानगरीय प्रहरी बल काठमाण्डौका प्रमुख राजुनाथ पाण्डे मध्ये एक जनाले नियुक्ति पाउने सम्भावना देखिएको छ। पाण्डे मेयर बालेन शाहका बिस्वसिलो पात्र पनि हुन्। उनले गृहमन्त्रीमा नियुक्ति पाउनसक्ने चर्चा चलिरहेका बेला अहिले खाइरहेको महानगरीय प्रहरी बल काठमाण्डौको प्रमुख पदबाट राजिनामा समेत दिएका छैनन्।

नेपाल प्रहरीमा रहंदा हक्कि र इमान्दार अनि भ्रस्टाचार बिरोधि अधिकारीको प्रहरी अधिकारीको पहिचान बनाएका पूर्व डीआइजी रमेश खरेल गृहमन्त्रीका प्रबल दाबेदार ठानिएका छन्। उनको अनुभवले गृह मन्त्रलाय सहजै हाँक्न सक्ने धेरैको बिश्वास रहेको छ। खरेल गृहमन्त्री भएमा नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरुमा नयाँ रक्तसञ्चार हुनसक्ने धेरैको विश्वास छ। त्यति मात्र हैन , उनले बिगतमा अनुसन्धान नगरी थन्क्याएर राखिएका भ्रस्टाचार लगायतका जघन्य अपराधका फाइलहरु खोलेर अनुसन्धान शुरु गर्नसक्ने धेरैको अपेक्षा छ।

यदि पूर्व डीआइजी खरेल र महानगरीय प्रहरी बल काठमाण्डौको प्रमुख पाण्डेले गृहमन्त्रीमा नियुक्ति नपाएमा कानूनमन्त्रालयको जिम्मेवारी सम्हाल्ने बरिष्ठ अधिबक्ता ओमप्रकाश अर्यालले नै गृह मन्त्रीको समेत जिम्मेवारी बहन गर्ने बताइएको छ।

आज मात्र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेकी पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ फेरि पनि वर्तमान अन्तरिम सरकारमा शिक्षा मन्त्रीका रुपमा सहभागी हुन लागेको राजनीतिक वृत्तमा ब्यापक चर्चा छ। उनी पूर्व प्रधानन्यायधिश कार्कीले प्रधानमन्त्री पदको सपथ ग्रहण समारोहमा पुगेकी थिइन्। त्यही कारण पनि उनी वर्तमान अन्तरिम सरकारमा सहभागी हुने धेरैको विश्वास छ। तर नेत्री सुमना श्रेष्ठले एक भिडियो संदेश जारी गरेर आफू वर्तमान अन्तरिम सरकारमा सहभागी नहुने स्पस्ट पारेकी छिन। उनले आफू सरकारमा सहभागी नभए पनि जेन जी आन्दोलनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन।

बाँकी मन्त्रालयमा को कसलाई मन्त्री बनाउने भन्ने बारेमा प्रधानमन्त्री कार्की र उनको सल्लाहकार टिम सघन रुपमा निरन्तर छलफलमा रहेको समाचार स्रोतहरुको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार