पोखरा, २८ भदौ २०८२।
जेनजीको आन्दोलनको क्रममा भदौ २४ गते हेटौँडास्थित बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सामान लुटपाट गरेको आरोपमा प्रहरीले दुइ जनालाई दुई ट्रक सामानसहित पक्राउ गरेको छ।
उक्त आरोपमा प्रहरीले सुनसरी घर भई हाल हेटौँडा–४ मा बसोबास गर्ने २४ वर्षीय गणेश साह र २१ वर्षीय आर्य देउलालाई स्थानीयवासीको सहयोगमा वडा प्रहरी कार्यालय सानो पोखरी, हेटौँडाले हेटौँडा उपमहानगरपालिका–४ कर्राबाट पक्राउ गरेको हो।
स्थानीय बासिन्दाले घटना भएको दिन २४ गते राति ट्रकमा लोड गरेर ल्याइएका सामान उक्त स्थानमा लुकाइएको सुचना दिए पछि प्रहरीले छापा मारेको थियो। उनीहरुको साथबाट दराज, टेबल, कुर्सी, कम्प्युटरलगायतका सामानसहित दुई ट्रक सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक अर्यालले लुटपाटको घटनामा संलग्न कसैलाई पनि नछोड्ने बताए। स्थानीयवासीहरूले लुटपाटमा संलग्न व्यक्तिको निगरानी गरिएको र लुटिएका सामान प्रहरीलाई बुझाइएको बताएका छन्।