संसद बिघटनको मागले वार्ता निष्कर्षबिहिन : प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा सहमति

संसद बिघटनको मागले वार्ता निष्कर्षबिहिन : प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा सहमति


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ भाद्र २०८२
  • 7.5K
    Shares

पोखरा, २७ भदौ २०८२।

गणतन्त्रवादी र पुराना राजनीतिक दलहरुले विद्यमान संबिधानमा टेकेर नै राजनीतिक निकास दिनुपर्ने चर्को दबाब दिईरहेका बेला राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार राति अबेरसम्म चलेको वार्तामा संसद बिघटनको बिषय चर्को बन्यो।

राती साढे १० बजेसम्म तेश्रो पुस्ता अर्थात जेनजीका प्रतिनिधिहरुले उक्त वार्तामा संसद बिघटनको मागलाई त्याग्न नमाने पछि वार्ता बिना निष्कर्ष टुंगिएको समाचार स्रोतहरुले जानकारी दिएका छन्। यसका लागि अहिले बिहान ९ बजे पुन: वार्ता गरिने भएको छ।

उक्त वार्तामा अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने सहमति जुटेको पनि प्राप्त समाचारमा जनाइएको छ।

कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति पनि जेनजीकै प्रस्तावअनुसार भएको हो। शीतल निवासमा विभिन्न चरणमा विभिन्न पक्षसँगको छलफल र परामर्शपछि राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेका हुन्।

यता जेनजि प्रतिनिधिहरुले वार्तामा संसद बिघटनको मागलाई नछाडे पछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ। भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए।

भेटमा वर्तमान राजनीतिक निकासका बारेमा उनीहरूबीच छलफल भएको थियो। सभामुखसँगको भेटमा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताए।

यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको जनाइएको छ। उनीहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , संसद बिघटनको लुरा चर्को रुपमा उठ्न थाले पछि नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।

सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा ब्रिफिङ गरेको स्रोतको भनाइ छ । शीतल निवास जेनजी आन्दोलनकारीले जलाइदिएपछि हाल राष्ट्रपति सुरक्षित स्थानमा सरेका छन् ।

आजै एक विज्ञप्ति जारी गरेर राष्ट्रपतिले वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका थिए ।

उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका थिए । राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार