पोखरामा भू-माफियाहरु सलबलाए : कास्की मालपोतका हाकिम पौडेलको काज सरुवा, नेपाली आए

पोखरामा भू-माफियाहरु सलबलाए : कास्की मालपोतका हाकिम पौडेलको काज सरुवा, नेपाली आए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ भाद्र २०८२
  • 10.2K
    Shares

मालपोत कार्यालय, कास्की

पोखरा, २३ भदौ २०८२।

पोखरामा फेरि एक पटक भू – माफियाहरु सलबलाउन शुरु गरेको खबरहरु आएका छन्। सुकुम्बासीका नाममा हुकुमबासीहरुलाई जग्गा उपलब्ध गराउन नसक्ने भए पछि भू – माफियाहरुले छुट दर्ताका नाममा सार्वजनिक जग्गा हडप्न चलखेल गर्दै सलबलाउन शुरु गरेका प्राप्त समाचारहरुमा जनाइएको छ।

पोखरामा एक छत्र राज गरिरहेको एउटा भू – माफिया समूह पोखरा महानगरपालिकाका वडा नम्बर ५, १४, १८ र २४ लगायतका वडाहरुका बहुमूल्य सार्वजनिक जग्गा छुट जग्गा दर्ताका नाममा व्यक्तिका नाममा गराउन लागी परिरहेको समाचार स्रोतहरुले जानकारी दिएका छन्। उक्त भू -माफिया समुहले बहुमुल्य सार्वजनिक जग्गा, गुठीका जग्गा खोजी गरिरहेको र कागजपत्र मिलाएर जग्गा दर्ता गर्न लागि परेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

यता लिचिघारी काण्डले नेपालभर चर्चामा आएको पोखरा महानगरपालिका वडा नम्बर १६ अमरदीप स्थित लिची बगैंचाको चर्चाले फेरी उच्च प्राथमिकता पाउने देखिएको छ। उक्त जग्गा दर्ता गराउन शाह परिवार लागि परिरहेका छन्। त्यस प्रयोजनका लागि बिचौलिया सुजन लामाले मन्त्रीहरुलाई समेत करोडौं रुपियाँ खर्चिएको भन्दै विभिन्न अडियो सामाग्रीहरु सामाजिक संजालाहरुमा सार्वजनिक भएका थिए। तिनै सार्वजनिक अडियो सामाग्रीका कारण सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजिनामा दिएका थिए भने नेकपा एमालेले बिचौलिया सुजन लामालाई पार्टीको गण्डकी प्रदेश सदस्यबाट निलम्बन गरेको थियो। सोहि काण्डमा रकम लिएको आरोप लागेर चर्को बिरोध भए पनि भुमि सुधार मन्त्री बलराम अधिकारीले अझै राजिनामा दिएका छैनन्। उनले राजिनामा त दिएका छैनन् नै , एक पटकलाई भन्दै खोला , बगर, वन-जंगलको जग्गा पनि व्यक्तिको नाममा दर्ता गर्न मिल्ने गरी भुमि सुधार ऐन संशोधन गर्न लागि परेका छन्। यदि उक्त भुमि सुधार ऐन संशोधन भएमा आफूहरुलाई जग्गा दर्त गर्न भन्दै भू – माफियाहरु उक्सिएका छन्।

पोखरामा भू – माफियाहरु सलबलाइ रहेका बेला कास्की जिल्ला मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत चिरन्जिबी पौडेलको आठ महिनामै सरुवा भएको छ। सामान्यत: कुनै पनि कर्मचारीको दुई वर्ष अवधिसम्म सम्बन्धित कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुँदैन। आफ्नो जागिरे जीवनबाट अवकाश हुन् १८ महिना जति बाँकी रहेका प्रमुख मालपोत अधिकृत पौडेलको आठ महिनामै विभागमा काज सरुवा गरिएको प्राप्त समाचारमा जनाइएको छ।

आफ्नो जागिरे जीवनको उत्तरार्धमा आफुले गलत काम कुनै पनि हालतमा गर्न लिंदै आएका पौडेलले चर्चित लिचिघारी काण्डमा नियमकानुन विपरीतको काम गर्न नमान्दा सरुवा भएको बताइएको छ। उनले ऐनकानून विपरीत भुमि आयोगको नाममा हुकुम्बासीलाई दर्ता गर्न खोजिएका जग्गा बारे असहयोग गर्ने गरेको भू-माफियाहरुको आरोप लगाएका छन्। त्यति मात्र हैन, उनले गुठीका नाममा रहेको सैयौं रोपनी जग्गा व्यक्तिका नाममा गर्न नमान्दा उनको आठ महिनामै बलात सरुवा गरिएको जानिफकारहरू बताउँछन।

पौडेलको काज सरुवा भएसंगै उनको ठाउँमा सुर्खेत घर भएका छबि नेपाली कास्की जिल्ला मालपोत कार्यालयमा प्रमुख मालपोत अधिकृतको रुपमा काजमै सरुवा भएर आएका छन्। उनको कार्यकालमा गलत कार्य हुन नदिन नागरिक समाज , पत्रकार, बुद्धिजिबी लगायत चनाखो हुनुपर्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार