पोखरा,९ पुष मंसीर २०८१।
मोरङमा एक युवती हात, खुट्टा बाँधिएको अवस्थामा अचेत भेटिएकी छन् । जिल्लाको कटहरी २ स्थितमा २३ वर्षीया युवती अचेत अवस्थामा भेटिएकी हुन् ।
खेतको छेउमा रहेको बाँसको झ्याङ नजिकै हात, खुट्टा बाँधेको र मुखमासमेत पट्टी बाँधेको अवस्थामा युवतीलाई आज दिउँसो साढे १२ बजेतिर अचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बाँसको झ्याङबाट अचेत अवस्थामा उद्धार गरिएकी ती युवतीको हाल कोशी अस्पताल विराटनगरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको प्रकृति हेर्दा बलात्कार भएको हुनसक्ने डिएसपी जोशीले बताए । उनको स्वास्थ्यमा अहिले केही सुधार आएको छ । बलात्कारको अनुमान गरिएपनि अस्पतालको रिपोर्ट नआइकन प्रहरीले यसै भन्न नसक्ने उनको भनाइ छ ।
पीडित युवतीकी दिदीका अनुसार मंगलबार बिहान उनी घरबाट मर्निङ वाकका लागि निस्किएकी थिइन् । बाँस झ्याङमा कसैले नदेख्ने स्थानमा लगेर हात, खुट्टा बाँधेर मुखमा पट्टीसमेत लगाएपछि बलात्कार भएको उनले बताइन् । उनले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको माग गरिन् ।