पोखरा,९ पुष मंसीर २०८१।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको भक्तपुरमा हत्या भएको छ।
पांच दिन अघि मात्र काठमाण्डौ आएका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य भक्तपुरको बालकोटस्थित छोरा प्रवीण आचार्यको डेराकोठामा बस्न पुगेका थिए। तर उनीहरु सोमबार बिहान डेराकोठामा मृत भेटिएका थिए। तर त्यही डेरा कोठामा बस्दै आएका जेठा छोरा मिलन मोबाइल स्विच अफ गरेर बेपत्ता भएका छन्। प्रहरीले जेठा छोरा मिलनले नै उक्त हत्या गरेको हुनसक्ने आशंका गरेको छ। हत्यापछि बिहान करिब तीन बजे डेराबाट निस्किएका उनले नै कोठामा ताला लगाएर निस्किएको हुनसक्ने अनुमान प्रहरीको छ।
शनिबार बिहानदेखि कोठाबाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार खोल्दा दुईजनाको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार छोराको शव किचनमा र बुबाको अर्काे कोठामा भेटिएको हो। किचनको सिलौटोमा कपाल र रगत छ। हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका प्रहरीको छ। शवमा चोटपटक रहेको र घटनास्थलको अवस्थाका आधारमा हत्या नै भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्।
आफन्तले परिवारलाई बताएअनुसार जेठा छोरा मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोक सेवा आयोगको तयारीमा थिए भने कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए। नायब सुब्बा तहका कार्यरत कुलप्रसादले छोराहरूलाई पढाउन भक्तपुरमा राखेका थिए।
प्रहरीले सोमबार दिउँसो शव उठाएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ। अन्य प्राविधिक अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ।