पोखरा, १३ मंसीर २०८१।
बाराको कलैया स्थित रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या गरेर भागेका प्रमुख आरोपीलाई प्रहरीले छ महिना पछि पक्राउ गरेर सार्वजनिक गरेको छ।
गएको गत जेठ ३२ गते क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या गरेर भागेका प्रमुख आरोपी सुरेन्द्र कुशवाहालाई पक्राउ गरेर प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
हत्यापश्चात बिराटनगरमा खेतीपाती गरेर बसेको अवस्थामा प्रमुख आरोपी सुरेन्द्रलाई बुधबार अबेर राती बिराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख(एसपी) महेन्द्र खड्काले जानकारी दिए । अभियुक्त सुरेन्द्र समेतका व्यक्तिहरुले गत जेठ ३२ आदर्श कोतवाल गाउँपालिकाको खजुरियामा कुशवाहाको गोली प्रहार गरी हत्या गरेका प्रहरीले जानकारी दिएको छ। त्यति बेला गोली लागेर घाइते भएका क्याम्पस प्रमुख कुशवाहाले फोन गरेर सुरेन्द्र कुशवाहाले आफू माथि गोली प्रहार गरेको जानकारी गराएका थिए।