पोखरा, ६ मंसीर २०८१।
उदयपुरमा भएको दुर्घटनामा बुबाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। जिल्लाको त्रियुगा नगरपालिका-१३ असारीस्थित दनुवारी चोकबाट गाईघाटतर्फ आउँदै गरेको स१त ५७४२ नम्बरको ट्र्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकल बुधबार साँझ एकआपसमा ठोक्किँदा बुबाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको र उनका दुई छोराहरु १५ वर्षीय दिवाकर चौधरी र १० वर्षीय कृष्ण चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
घाइते दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएकोमा थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको छ। प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।