पोखरा,३० कार्तिक २०८१।
दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ र उनीहरु सबैको पहिचान खुलेको छ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप आज बिहान शैल्यशिखर नगरपालिका-६ बकजेबलामा दुर्घटनाग्रस्त हुँदा दुई भारतीयसहित आठ जनाको मृत्यु भएको छ।
जात्राबाट फर्किरहेका दशनार्थी सवार उक्त जिप दुर्घटना हुँदा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसिम, दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, ४० वर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका-५ लेकका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदीप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावलका अनुसार जिप दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेमा शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ८ वर्षीय सन्दीप रावल, जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ वर्षीय उत्तम रोकाया र भारतको पिलिभित मारुडण्डाका १७ वर्षीय सोहिन शाह छन्।
टाउकोमा चोट लागेका जिप चालक जोशीको अवस्था गम्भीर छ। अन्य मध्यम घाइते छन्। उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। सामान्य घाइते प्रकाश रावल उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ।
जिपमा १३ यात्रु थिए। मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु चढेको जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो।