पोखरा,२९ कार्तिक २०८१।
काभ्रेमा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ वालुवा खन्याएर फर्कदै गरेको हाल अल्फाबेट नखुलेको २२०२ नम्बरको निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो।
प्रहरी चौकी पाँच खालका प्रमुख प्रहरी निरीक्षक किशोर बुढाथोकीले ट्रक दुर्घटनामा ट्रक चालक स्थानीय कुमार रोक्का र माइला रोक्काको मृत्यु भएको जानकारी दिए। मृतक कुमार र माइला नजिकको दाजुभाइ रहेको स्थानीयबासीले जनाएका छन्।
स्थानीय खानीबाट वालुवा लिएर आएको ट्रक वालुवा खन्याएर घर फर्कने क्रममा सडकबाट करिब दुई सय मिटर तल खसेको छ। ‘घटनास्थलको प्रकृति हेर्दा ट्रक सडकमा माथि भागबाट नै भित्तोमा ठोक्किँदै ठोक्किँदै सडकबाट तल खसेको देखिन्छ, ट्रकको ब्रेक फेल भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ’, प्रहरी निरीक्षक बुढाथोकीले भने।