काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आज एकै परिवारका तीन जना मृत भेटिएका छन्। गोकर्णेश्वर नगरपालिका ३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीको घरमा भित्रबाट चुकुल लगाएको अवस्थामा उनकी ३३ वर्षीया श्रीमती सीता दंगाल (नगरकोटी), छोरी वर्ष १५ की अंशु मोक्तान र दुई महिने छोरा मृत भेटिएका हुन् ।
कान्छा नगरकोटीले आफ्नो श्रीमती, एक छोरा र छोरी हराइरहेको भन्दै प्रहरी वृत बौद्वमा खोजतलासका लागि निवेदन दिएकोमा प्रहरी टोलीले आज अपराह्नघरभित्रै उनीहरु मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उक्त घटनामा अहिले प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए ।
तीन जनाकै शव सडेको अवस्थामा फेला परेको बताइएको छ ।
कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त, बौद्ध र जिल्ला प्रहरी परिसर, काठमाडौंले खोजी थालेको थियो । त्यसक्रममा बिहीबार अपराह्न आफ्नै घरको बन्द कोठाभित्र ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालकको शव भेटिएको थियो ।
प्रहरीका अनुसार, घरमा बाहिरबाट ताला लगाएकाले श्रीमती कतै गएको हुनसक्ने अनुमान गरेको श्रीमान् कान्छा नगरकोटीले बयान दिएका छन् । फर्किएर आउँदा घरको बाहिरपट्टी नै ताला लागेको देखेपछि आफू बाहिरै बसेको उनले बयान दिएका छन् । प्रहरीका अनुसार, तालाभित्र र बाहिर दुवैतिरबाट लगाउन मिल्ने किमिसको छ ।
घटनास्थलमा पुगेका काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कोठामा बीच भागतिर माकल बालेर आगो तापेको देखिएको छ । ‘त्यहाँ तेल पनि भेटिएको छ, दुई महिनाको बच्चालाई लगाइदिन राखेको जस्तो देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘यद्यपि, थप विषयहरुको जाँच भइरहेको छ ।’
अहिलेसम्म हेर्दा निसासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ । हालसम्म सीताका श्रीमान् कान्छा प्रहरी नियन्त्रणमा छन् । यद्यपि, अहिलेसम्मको जाँचले घटना भवितव्य जस्तो देखिएको अधिकृतहरुको भनाइ छ । दुवै जनाले एकअर्कासँग दोस्रो विवाह गरेको प्रहरीको भनाइ छ । प्रहरीले यो घटनामा अनुसन्धान भइरहेको जनाएको छ ।