हात भाँच्चिएकी बालिकाको उपचारका क्रममा मृत्यु : डोटीबाट तीन जना डाक्टर पक्राउ

हात भाँच्चिएकी बालिकाको उपचारका क्रममा मृत्यु : डोटीबाट तीन जना डाक्टर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 8.5K
    Shares

पोखरा,२३ कार्तिक २०८१।

हात भाँच्चिएर उपचारका लागि अस्पताल पुगेकी एक बालिकाको मृत्यु भए पछि डोटीबाट तीन जना डाक्टर पक्राउ परेका छन्।

खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भए पछि डोटीको राजपुरस्थित सुजङ अस्पतालका तीन जना डाक्टर पक्राउ परेका हुन्।

बायाँ हात भाँच्चिएकी बालिका रजनी भुलको सामान्य उपचारपछि अपरेशन गर्न बुधवार राति करिब ८ बजे बेहोश बनाइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उपचारका क्रममा बालिकाको मृत्यु भए पछि प्रहरीले उक्त अस्पतालका डाक्टर राजमणि यादव, डाक्टर सुरेन्द्र कुमार चौधरी र डाक्टर अभिषेक यादवलाई पक्राउ गरिएको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार बालिकाको शव हाल अस्पतालमै छ। मृतकका आफन्त घरबाट आइपुगेका छैनन्।

‘मृतकका आफन्त आइपुगेपछि मात्र घटनाको विषयमा सत्यतथ्य थाहा हुनेछ। अहिले मृतकका आफन्त आउँदैछन्। घटनाको अनुसन्धानका लागि तीन जना चिकित्सकलाई हामीले नियन्त्रणमा लिएका छौँ। अहिले घटनाको प्रारम्भिक अनुसन्धान समेत भएको छैन।’

प्रतिक्रिया
सम्बन्धित समाचार