पोखरा,७ कार्तिक २०८१।
गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा आगलागी हुँदा ध्वस्त भएको छ। जिल्लाको गुल्मीदरबार–४ बस्ने बर्ष ३० को कृष्ण बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा आफ्नो लु८प १०५३ नम्बरको मोटरसाइकलमा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा आगलागी भएर ध्वस्त भएको हो ।
आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। मानवीय क्षति भने हुन नपाएको उनले बताए ।
मोटरसाइकलमा लागेको आगो नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएका थिए । मोटरसाइकल जलेर नष्ट भए पनि पेट्रोल पम्पलगायत वरपरको क्षेत्र क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।