केटी भेट्ने बिबादमा लागू औषध दुर्व्यसनीहरुको समूहले आफ्नै साथीको हत्या गरे

केटी भेट्ने बिबादमा लागू औषध दुर्व्यसनीहरुको समूहले आफ्नै साथीको हत्या गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ कार्तिक २०८१
  • 2.1K
    Shares

पोखरा,५ कार्तिक २०८१।

केटी साथी भेट्न नदिए पछि सिरहामा लागू औषध दुर्व्यसनीहरुले आफ्नै साथीको हत्या गरेका छन्। गएका असोज २८ गते सिराहाको सुखिपुर नगरपालिका–१०, शिवचौकमा लागेको दुर्गा पूजाको मेलामा पुगेका लागू औषध दुर्व्यसनीहरुले लागू औषध सेवनका क्रममा केटी साथी भेट्न नदिए पछि आफ्नै साथीको हत्या गरेका हुन्।

गएको असोज २९ गते बिहान शिवचौकस्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा भेटिएका गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनकै आफ्नै साथीहरुले गरेको प्रहरीले जानकारी दिएको छ।

महराको हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

डीएसपी पासवानका अनुसार, असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भएका थिए । सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेलास्थलभन्दा पूर्वतिरको खोलानजिक गए ।

उनीहरूले गाँजा र लागुऔषध नाईट्राभेट ट्याबलेट सेवन गरे । त्यसै क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना सुनाए । अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले स्वीकारेनन् ।

सोही विषयका उनीहरुबीच विवाद बढ्यो र रिसको आवेगमा हत्या योजना बनाए । पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पासवानले बताए ।

अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए । असोज २८ गते कृष्णको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नै साथीद्वारा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आरोपीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार