पोखरा,२९ असोज २०८१।
बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की करिब १७ वर्षीया किशोरी बेपत्ता भएको चार दिनपछि किटानी जाहेरी परेको छ।
शुक्रबार बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार कृष्णराज जोशी विरुद्ध किटानी जाहेरी दिएका हुन्।
पञ्चेश्वर–२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार जोशी विरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ। प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरण समेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन्।
किशोरी बेपत्ता भएपछि हवल्दार जोशी भारतपट्टीबाट भाग्दै गरेको अवस्थामा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिएका थिए। तर किशोरीको अझै अत्तोपत्तो छैन।
बेपत्ता किशोरीको खोजी गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षकको नेतृत्वमा जम्बो प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका तत्कालीन इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी समातिएका थिए।
उनी अहिले पनि थुनामै छन् भने किशोरी भेटिएकी छैनन्।
स्रोतका अनुसार उनीहरूबीच पहिलेदेखि लसपसको सम्बन्ध थियो। हवल्दार जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन्।
शुक्रबारको अघिल्लो रात पानी ल्याउन भन्दै निस्किएकी किशोरी दोस्रो दिनको दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए। त्यसपछि हवल्दार र किशोरीको सम्बन्धको विषय खुलेकोमा जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाइएको थियो। त्यसपछि अनुसन्धानका क्रममा प्रहरीले किशोरीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला परेको थियो।
यसैक्रममा युवती बेपत्ता भएको घटनामा चौकी इन्चार्ज पक्राउ परेपछि त्यहाँ कार्यरत अन्य प्रहरी समेत जिल्ला तानिएका थिए। अहिले उनीहरूको स्थानमा जिल्लाबाट असई सुरत बहादुर साउदको नेतृत्वमा ९ जनाको टोली खटाइएको छ। यस अगाडि तिनै हवल्दार जोशीको कमान्डमा ४ जना थिए।