पोखरा,२९ असोज २०८१।
गएराती डडेलधुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको पवनदूत यातायातको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन्।
दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका डीएसपी सुगन्ध श्रेष्ठले जानाकारी दिए। १७ जना सवार उक्त बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् । यसैगरी, पुर्चौडी नगरपालिकाकै वडा नं. १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन् ।
घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । १२ जना घाइते मध्ये गम्भीर घाइते २ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।