पोखरा,२१ असोज २०८१।
पल्टिएको क्रेनले किचेर गोरखामा एक जना ह्याचरीमा कार्यरत मजदुरको मृत्यु भएको छ। ब्रेक फेल भएर पल्टिएको नम्बर नखुलेको उक्त क्रेनले किचेर गोरखा नगरपालिका –१० हुल्चेमा निर्माणधीन अबिनाश अर्बाएकर प्रालि ह्याचरीमा काम गरिरहेका मजदुर बारा जितपुर सिमरा उपमहानगरपालिका –१९ स्थायी घर भएका १९ बर्षिय प्रिन्स अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।
आइतबार दिउँसो ४ बजे निर्माणाधिन अविनाश अर्वाएकर प्रा.लि.को ह्याचरी हाता भित्रै एक स्थानबाट अर्को स्थानमा क्रेन लाने क्रममा एक्कासी ब्रेक फेल भइ काम गरिरहेको स्थानबाट २० मिटर तल खोलामा खस्न जाँदा सोही प्रालिमा काम गर्ने अन्सारीको क्रेनले किचेर मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए।
उक्त दुर्घटनामा मृत्यु भएका प्रिन्स अन्सारीको शब् पोस्टमार्टमका लागि गोर्खा जिल्ला अस्पतालको शबगृहमा राखिएको प्रहरीले बताएको छ।
उक्त दुर्घटनापश्चात क्रेनका चालक पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका –३० स्थायी घर भएका २४ बर्षीय अजहर अन्सारीलाई नियन्त्रणमा लिइ सो घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शर्माको भनाइ छ ।