पोखराको युनिक होटलमा सुकु हत्या प्रकरण : आठ महिनापछि संजय चितवनबाट पक्राउ

पोखराको युनिक होटलमा सुकु हत्या प्रकरण : आठ महिनापछि संजय चितवनबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ साउन २०८१
  • 4.6K
    Shares

युनिक होटल, नागढ़ूँगा, पोखरा

पोखरा, ३ साउन २०८१।

पोखराको नागढुंगास्थित युनिक होटलमा एक महिलाको हत्या गरेर भागेका एक युवालाई प्रहरीले आठ महिनापछि चितवनबाट पक्राउ गरेको छ।

उक्त होटलमा २०८० सालको मंसीर ५ गते तनहुँ भिमादकी ३८ वर्षिया सुकु विकको हत्या गरेर भागेका बाग्लुङ घर भएका सञ्जय बिक चितवनबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, हत्या भएको युनिक होटल नजिकको शिला रेस्टुराँमा काम गर्ने सुकु विक गएको मंसीर ५ गते साँझ ६ बजेर ५० मिनेटतिर अर्का एक पुरुषसहित युनिक होटलमा पुगेर एउटा कोठा बुक गरेकी थिइन् । त्यस लगत्तै उनले एउटा वियर मगाएकि थिइन् पनि । त्यसको केही बेरमा अचेत अवस्थामा भेटिएकी सुकु बिकलाई होटलका संचालक समेत मिलेर उपचारका लागि नजिकै रहेको चरक मेमोरियल अस्पताल पुर्याए। तर त्यसको केही बेरमा नै उनको सोही अस्पतालामा उपचारका क्रममा मृत्यु भएको थियो ।

सुकु अचेत अवस्थामा भेटिए पनि उनीसंगै कोठामा पुगेका पुरुष भने बेपत्ता थिए। प्रहरीले शंकाको भरमा केही व्यक्तिलाई समात्यो, तर सबुद प्रमाण नभेटे पछि छाडेको प्रहरीले जानकारी दिएको छ। त्यति बेला सुकु बिकको हत्यामा संलग्न रहेको आशंका गरिएका संजय बिक भागेर भारत पुगिसकेको सुराक प्रहरीले पाएको थियो। संजयले प्रयोग गर्ने मोबाइल अन्तिम पटक नेपाल-भारत सीमामा सक्रिय भएको देखेपछि प्रहरीले उनी भारत पुगेको निष्कर्ष निकालेको थियो ।

त्यतिबेला भारतीय सिमा क्षेत्र पुगेका संजय बिक चितवनमा आएर लुकिछिपी बसेको सुचना पाएको कास्की प्रहरीले चितवन प्रहरीको सहयोगमा चितवनबाट पक्राउ गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन्। अभियुक्त संजय बिकलाई पोखरा ल्याएर सार्वजनिक गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार