पोखरा, २७ असार २०८१/
बारामा आज बिहान भएको बस दुर्घटनामा परेर घाइते भएका १४ जनाकै पहिचान खुलेको छ। मलंगवाबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको ना.४ख ७१९४ नम्बरको बस पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पसाह खोलानजिकै पल्टिँदा घाइते भएका १४ जना यात्रीको पहिचान खुलेको हो।
इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहले दिएको जानकारी अनुसार, दुर्घटनामा घाइते भएका १४ मध्ये रौतहटको बिन्दावन नगरपालिका– १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको छ । उनको छातीमा चोट लागेको हुँदा प्राथमिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनको बयाेधा अस्पताल पर्सामा रिफर गरिएको छ ।
यस्तै, दुर्घटनामा घाइतेमध्ये तीनजनाको अवस्था मध्यम रहेको बताइएको छ । अवस्था मध्यम हुनेमा बाराको निजगढ नगरपालिका– ९ बस्ने ३६ वर्षीय तिरजा उप्रेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका– ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जितपुरसिमरा उपमहानगरपालिका– ३ बस्ने २० वर्षकी लक्षमी घिसिङ रहेका छन् ।
यस्तै, सामान्य घाइते हुनेमा बाराको निजगढ नगरपालिका– ९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका– ६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जितपुरसिमरा उपमहानगरपालिका– ३ बस्ने २२ वर्षीया आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका– १३ बस्ने २५ वर्षीय रिकदेवप्रसाद यादव, रौतहटको गरुडा नगरपालिका– ९ बस्ने ३३ वर्षीय लालबुबा दास, सोही स्थानका २४ वर्षीय कैलाश यादव, सोही स्थानका ३२ वर्षीय रामउदगर साह, सोही स्थानका १७ वर्षीय राकेशकुमार यादव र बाराको जितपुरसिमरा उपमहानगरपालिका– १४ बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारी रहेको जिल्ला प्रहरीले जनाएको छ । घाइतेहरूको सिमरास्थित सिमरा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बसका सहचालक सर्लाहीको मलंगवा नगरपालिका– १० बस्ने २८ वर्षीय राकेशकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको छ भने बसचालक सर्लाहीको मलंगवा नगरपालिका– ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन् ।
भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा बसले ओभरटेक गर्ने क्रममा सडकभन्दा उतरतर्फ बस पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ ।