५० हजार रुपियाँ ऋण तिर्न काभ्रेमा सडक मजदुरद्वारा दम्पत्तिको हत्या

५० हजार रुपियाँ ऋण तिर्न काभ्रेमा सडक मजदुरद्वारा दम्पत्तिको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० जेष्ठ २०८१
  • 5.8K
    Shares

काभ्रेमा दम्पत्ति हत्या आरोप लागेका सडक मजदुर एकिन्द्र सार्की

पोखरा, ३० जेठ २०८१/

जेठ महिनाभित्र तिर्नुपर्ने ५० हजार रुपियाँका लागि काभ्रेमा एक सडक मजदुरले दम्पत्तिको हत्या गरेको खुलेको छ।

आफूलाई लागेको करीब एक लाख रुपियाँ ऋण मध्ये ५० हजार रुपियाँ जेठ महिनाभित्र तिर्नुपर्ने बाध्यताले सिन्धुपाल्चोकको जुगल–१ घर भई महादेवटारमा सडक निर्माणसम्बन्धी काम गर्ने ३८ वर्षीय एकेन्द्र सार्कीले काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा मानबहादुर दम्पतीको हत्या गरेको खुलेको हो।

हाल प्रहरीको नियन्त्रणमा रहेका सडक मजदुर एकेन्द्र सार्कीले महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकैमाया बलको गएको जेठ ८ गते हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्।

प्रहरीका अनुसार एकेन्द्र सार्कीको ऋण लाख रुपैयाँभन्दा बढी पुगिसकेको थियो । त्यसमध्ये ५० हजार जेठभित्र तिर्नुपर्ने थियो । सडकमा काम गर्ने उनी बेलाबेला किनमेलका लागि मानबहादुर दम्पतीले सञ्चालन गरेको पसलमा जान्थे । त्यसक्रममा केकैमायाले लगाएको सुनका गहनाहरू देखेपछि लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

७ जेठको मध्यरातमा साबुन तथा स्याम्पु किन्ने बहाना बनाएर पसलमा पुगेका उनले केकैमाया र मानबहादुरको घन तथा फलामको रडले हानेर हत्या गरेका थिए । उनले पसलको घर्राबाट नगद, रिचार्ज कार्ड, मानबहादुरको मोबाइल र केकैमायाले लगाएको सुनको गरगहना लुटेर भागेका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा पक्राउ गरिएका एकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार