पोखरा, ३० जेठ २०८१/
अस्पताल हाताभित्रै आतिसबाजी गरेर बिरामीहरुलाई तर्साएको आरोपमा कपिलवस्तुस्थित एक अस्पतालका इलेक्ट्रिसियन पक्राउ परेका छन्।
कपिलवस्तु अस्पतालका करारमा कार्यरत इलेक्ट्रिसियन डेबिट उस्मान मुसलमानलाई प्रहरीले अस्पताल हाताभित्रै आतिसबाजी गरेर बिरामीहरुलाई तर्साएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
सरुवा भइ आएका कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेको स्वागतमा मंगलबार दिउसो अस्पताल हाताभित्रै आयोजित स्वागत कार्यक्रममा इलेक्ट्रिसियन मुसलमानले आतिसबाजी गरेको आरोप प्रहरीले लगाएको छ। मंगलबार दिउसो मेसु बन्जाडेको स्वागतमा पटाका पड्काइएको र अस्पतालमा रहेका बिरामी र उनका कुरूवा त्रसित भएको दाबी गरिएको छ।
समाचार सार्वजनिकपछि त्यसको चौतर्फी बिरोध भएपछि प्रहरीले उस्मानलाई नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले बताए ।