पोखरा, २६ जेठ २०८१/
शान्ति सेनाबाट फर्किएर घर बिदामा आएका एक सैनिक जवानले आफ्नो पूर्वपत्नीलाई परपुरुषसंगै भेट्टाए पछि दुवै जनालाई खुकुरीले छप्काएका छन्।
नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमलदार ३६ वर्षीय सालिकराम बुढाथोकीले दुवै जनालाई खुकुरीले छप्काएका हुन्।
सैन्य अमल्दार बुढाथोकीले हानेको खुकुरीले लागेर गम्भीर घाइते भएकी उनको पूर्व पत्नी टिका रावत बुढाथोकीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।
उनकै खुकुरी आक्रमणमा गम्भीर घाइते भएका नेपाली सेनाका जवान आर्यन थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाकारी दिएको छ ।
प्रहरीका अनुसार, शान्ति सेनाबाट फर्किएपछि सैन्य अमल्दार बुढाथोकी शुक्रबार बिहानै दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित पुर्व पत्नी टिका रावतको डेराकोठामा पुगेका थिए। त्यहाँ पुग्दा उनले आफ्नी पूर्व पत्नी टिका बुढाथोकी परपुरुषसंगै आपत्तिजनक अवस्थामा भेट्टाए पछि भकाभक खुकुरी हानेको प्रहरीले बताएको छ। त्यसपछि भागेका बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने सालिकराम इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
(यस अघि आफ्नै पत्नी भनिएकोमा उनीहरुको सम्बन्ध बिच्छेद भएको जानकारी प्राप्त भएकाले समाचार सच्याइएको छ -सम्पादक)