पोखरा, २४ जेठ २०८१/
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ बगैँचाबाट पार्किङ गरि राखेको अवस्थामा सोमबार राती चोरी भएको मोटरसाइकल बेंशीशहर–खुदी सडक खण्ड अन्तर्गत बेंशीशहर नगरपालिका–६ बेलौती बिसौनीको घुम्तीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने उक्त मोटरसाइकल चोरेर भागेका युवा घाइते अवस्थामा पक्राउ परेका छन्।
प्रहरीका अनुसार, उदयपुर घर भै हाल मर्स्याङ्दी ९ बगैँचामा ढुङ्गा कटिङ व्यवसाय गर्दै आएका २६ बर्षीय खगेन्द्र राईको पार्किङ गरिराखेको ग९प ७१७२ नम्बरको १८० सीसी पल्सर मोटरसाईकल सोमबार राती चोरी भएको थियो। उक्त मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा बेंशीशहर–खुदी सडक खण्ड अन्तर्गत बेंशीशहर नगरपालिका–६ बेलौती बिसौनीको घुम्तीमा भेटिएको प्रहरीले जानकारी दिएको छ।
चोरी गरेको मोटरसाइकल लिएर भाग्दै गर्दा बेलौती बिसौनीको घुम्तीमा दुर्घटनाग्रस्त भएपछी भागेका मर्स्याङ्दी गाउँपालिका–३ ढगै घर भइ मर्स्याङ्दी –९ बगैँचा बस्ने १९ बर्षीय आस कुमार विकलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको छ।
पक्राउ परेका घाईते विकको दाहिने करङमा भित्री चोट देखिएपछि उपचारपछि उपस्थित हुने सहमतिमा उनका दाई बुद्धि विकको जिम्मा लगाई उपचारका लागी पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए ।
उनलाई लमजुङ अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागी चितवन लगिएको प्रहरीले जनाएको छ ।