पोखरा, १६ जेठ २०८१/
नेपाली कांग्रेसको भात्री संगठन नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
जग्गा विक्री गर्ने भनी बैना रकम लिएर फिर्ता नगरेको र रकम नभएको बैंक खाताको चेक दिएको भन्दै अदालतमा मुद्दा दर्ता भएपछी तरुण दलका अध्यक्ष गुरुङबिरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । गुरुङविरुद्ध पक्राउ अनुमति आएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले जानकारी दिएको समाचार स्रोतले जनाकारी दिएको छ।
काठमाडौँस्थित एउटा आइटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्ने भनेर गुरुङले दुई करोड बैना लिएर जग्गा अर्कैलाई बिक्री गरेको आरोप छ । कार्यालय स्थापना गर्न भनेर जेनेस सलुशन नामको कम्पनीले पोखरा महानगरपालिका–१२ मा करिब १३ आना जग्गा खरिद गर्न गुरुङलाई दुई करोड बैना दिएको हो । तर, सो जग्गा गुरुङले अर्कै व्यक्तिलाई बिक्री गरेको मालपोत कार्यालय कास्कीको रेकर्डमा भेटिएको छ ।
बैना रकम फिर्ता माग्दा उनले ५० लाख नगद र एक करोड ६५ लाखको एकाउन्ट पेइ चेक दिएका थिए । चेक सटहीका नभएपछि पीडित पक्षले उनीविरुद्ध बैंकिङ्ग कसुर र ठगी मुद्दामा जाहेरी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको जिल्ला अध्यक्ष रहेका गुरुङ यसअघि पनि आपराधिक काममा संलग्न आरोपमा पक्राउ पर्ने गरेका थिए ।