पोखरास्थित फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । निमोनियाबाट ग्रसित गुरुङको भारतको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा बुधबार बिहान निधन भएको हो । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण गरिएको थियो ।
२०१६ सालमा गुल्मीको गैढुंगामा जन्मिएका गुरुङ हाल पोखरा १० रामघाट निवासी हुन् । उनका श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ छन् ।
गुरुङले पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रमुख भएर ३० वर्ष काम गरेका थिए । गुरुङ हाल फेवा एमआरआइका अध्यक्ष हुन् भने रोटरी क्लब अफ अन्नपूर्णमा समेत आवद्ध थिए । गुरुङ संस्थापक भएर पोखरामा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सञ्चालनमा आएको थियो ।
गुरुङको शव शुक्रबार मात्रै पोखरा ल्याइने पारिवारिक स्रोतले जनाएको छ । त्यसपछि अन्तिम संस्कारका प्रक्रिया अघि बढ्नेछ । उनको निधनपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत शुभचिन्तक एवं आफन्तले गहिरो दुःख व्यक्त गरेका छन् ।