पोखरा, ९ जेठ २०८१/
लेकमा गाइबस्तु हेर्न बस्दै आएकी एक एकल महिलाको बाजुरामा बिभत्स तरीकाले हत्या भएको छ। बडिमालिका नगरपालिका ६ कोर्ध बस्ने ४५ बर्षिया धौली बडुवालको विभत्स तरिकाले हत्या भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार, आफ्नो घरबाट करीब दुई घण्टा टाढा रहेको लेकमा गाइबस्तु हेर्न गोठमा बस्दै आएकी धौली सोमबार बिहान मृत भेटिएकी थिइन्। मृतक धौलीको टाउको र अनुहारमा गम्भिर चोट रहेको छ । घर ढोका र उनि सुताइएको नजिकै रहेको अदानीमा समेत रगत लागेको प्रहरीले जनाएको छ ।
मृतकको आफन्तले उनको वलात्कारपछि हत्या गरिएको दाबी गरेका छन्। तर जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख तथा डिएसपी दिलिप कुमार गिरीले भने बलात्कार पछि हत्या हो, वा अन्य कुनै कारण हो त्यसको अनुसन्धान भइरहेको वताएका छन् । तर उनीमाथि कुटपिट भएको प्रहरीको दाबी छ। उनीसँग रहेको नगद पैसा र शरिरमा लगाएका गहना भने उनकै शरिरमा रहेका थिए ।
धौलीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । पोष्टमार्टम पछि भेजाईनल स्वाव निकालेर ल्याव परिक्षणका लागि काठमाडौ पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि तिनजनलाइ प्रहरीले नियन्त्रणमा लगेको छ। धौलीका श्रीमान नन्द बडुवालको २४ बर्ष पहिला नै मृत्यु भइसकेको छ । उनी सधै अशक्क्त छोरी सँग बस्ने गरेकि थिईन् । छोरी दुइदिन अघि महिनावारी भएपछि बुढाकोर्धबाट कोर्ध गाउँ झरेकी थिईन् । धौली एक्लै बस्दै आएकि थिईन् ।
सोमबार बिहान ७ बजे सम्म उनि कतै नदेखिएपछि नजिकै छानोमा बस्दै आएकी जमुना बडुवाल धौली बस्ने ठाउँ पुगेकी थिईन् । छानाको ढोका लगाइएको थियो, भित्र खोलेर हेर्दा सुताइएको थियो । पुरै अनुहार भरी चोट र शरिर भरि रगत रहेको थियो । ओछ्यानमा सुताएझै सुताएर उनको शव राखिएको जमुनाले बताईन् ।