पोखरा, ९ जेठ २०८१/
हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पांच जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि प्रहरीले मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गरेको आरोपमा मुद्दा चलाएको हो।
प्रहरीका अनुसार, कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालतले उनीहरुविरुद्ध अनुसन्धान गर्न पांच दिनको म्याद दिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बाह्मणद्वय राम सापकोटा र लक्ष्मण सापकोटा तथा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको रकम सङ्कलन केन्द्रका एक कर्मचारीलाई नियन्त्रणमा लिए पनि निर्दोष देखिएपछि रिहा गरेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेले भने, “बैङ्कका कर्मचारी र गत साता मात्रै त्यहाँ खटिएका दुई कर्मचारी भेटी सङ्कलन गर्ने र लुकाउने कार्यमा संलग्न रहेको पाइएन । त्यसैले छोडिएको छ । अरू पाँच जनामाथि अनुसन्धान भइरहेको छ ।”
कोषका पाँच कर्मचारीमाथि काठमाडौँ जिल्ला अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाका कर्मचारी भेटी गणना कक्षबाट भेटी (रकम) लुकाएर चोरी गर्ने कार्यमा संलग्न भएको देखिएको थियो ।