दुर्गा प्रसाईंले आज पोखरामा महाभ्रस्ट र तस्करहरुको नाम सार्वजनिक गर्दै : पोखराको चक्रदेवी सहकारी तोडफोड, नौ जना पक्राउ

दुर्गा प्रसाईंले आज पोखरामा महाभ्रस्ट र तस्करहरुको नाम सार्वजनिक गर्दै : पोखराको चक्रदेवी सहकारी तोडफोड, नौ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ जेष्ठ २०८१
  • 6K
    Shares

चक्रदेवी सहकारी तोडफोडमा संलग्न अभियुक्तहरु

पोखरा, ९ जेठ २०८१/

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान नेपालले गण्डकी क्षेत्रका भ्रस्ट-तस्करहरुको नामावली सार्वजनिक गर्न आयोजित कार्यक्रमको अघिल्लो दिन मंगलबार पोखरामा एउटा सहकारीमा तोडफोड भएको छ र त्यस तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान नेपालका केही कार्यकर्तासहित नौ जनालाई पक्राउ पनि गरेको छ।

नागरिक बचाउ महाअभियान नेपालले आज पोखराको अमरसिंहचौरमा एक समारोह गरेर पोखराका भ्रस्ट र तस्करहरुको नाम सार्वजनिक गरिरहेको समाचारस्रोतहरुले जानकारी दिएका छन्। सोही सन्दर्भमा महाअभियानले पोखरा क्षेत्रमा माइकिङ गरेर ब्यापक प्रचार-प्रसार गरिरहेको छ।

यसैबीच प्राप्त जानकारी अनुसार, पोखरा महानगरपालिका–३० मा रहेको चक्रदेवी सहकारीमा मंगलबार दिउसो तोडफोड भएको छ र सो तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका नौ जना मध्ये केही दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान नेपालका कार्यकर्ता रहेको समाचार स्रोतहरुले जानकारी दिएको छ।

उक्त सहकारी तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले झापा भद्रपुरका ४० वर्षीय राजीव प्रसाईं, रुपन्देही–११ की ४७ वर्षीया कमला चन्द र नवलपरासी घर बताउने बर्ष ४२ की बिष्णु बोहरालाई पक्राउ गरेको छ। त्यस्तै कास्कीकै माछापुच्छ्रे गाउँपालिका–५ रिवानमा ३६ वर्षीय प्रकाश बिक,पोखरा महानगरपालिका–२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, त्यहीँका २९ वर्षीय समिन बिक, २७ वर्षीय सञ्जीव सुनार, ५२ वर्षीय यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेलीलाई पनि प्रहरीले सो सहकारी तोडफोड गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। पक्राउ परेका केही स्थानीय बाहेक अन्य दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान नेपालका कार्यकर्ता रहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रहरी स्रोतका अनुसार दुर्गा प्रसाईंको समर्थक भन्दै गएका समूहले उक्त सहकारीका कर्मचारीमाथि हातपात र तोडफोड गरेका हुन् । त्यस क्रममा कागजपत्र तितरबितर हुनुका साथै टेलिफोन तथा इन्टरनेटको तारमा समेत क्षति पुगेको प्रहरीको भनाइ छ ।

आज पोखराको अमरसिंह चौरमा हुने दुर्गा प्रसाईंको कार्यक्रमको प्रचारमा गएका व्यक्तिहरुले सहकारी तोडफोड तथा कर्मचारीलाई हातपात गरेका कर्मचारीले बताएका छन् ।

सहकारीबाट ३२ लाख रुपैयाँ लगेर पांच वर्षमा तिर्नुपर्ने ऋण पनि नतिरेका व्यक्तिसहित प्रसाईंका समर्थकले तोडफोड तथा कुटपिट गरेको सहकारीका कर्मचारीले प्रहरीलाई बताएका छन् । सहकारी तोडफोड तथा कर्मचारी माथिसमेत आक्रमण हुन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार