पोखरा, ७ जेठ २०८१/
जुवातास खेलिरहेको अवस्थामा पोखराबाट छ जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदाम पोखराबाट खटिएको प्रहरी टोलीले शनिबार राती करीब आठ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ७ रत्नचोकस्थित अर्जुन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा घरमालिक श्रेष्ठसहित छ जनालाई पक्राउ गरेको हो।
उक्त जुवातास खालबाट घरमालिक श्रेष्ठको साथमा पोखरा ७ रत्नचोक कै स्थानीय बासिन्दाहरु वर्ष ६३ को शिव बहादुर बि.क., वर्ष ५२ को बसन्त के.सी., वर्ष ३६ को बसन्त लामा, वर्ष ४५ को कृष्ण रावत,
र बर्ष ५६ को गोकर्ण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको साथबाट तीन बुक तास र १५ हजार दुई सय ५५ रिपियाँ बरामद भएको पनि प्रहरीले दाबी गरेको छ।
पक्राउ परेका आठै जनाविरुद्ध जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्दामा आठ दिनको म्याद थापा गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।