पोखरा, ४ जेठ २०८१/
पोखराबाट गुल्मी सदरमुकाम तम्घास जाँदै गरेको बस गुल्मीमा दुर्घटनाग्रस्त हुँदा बसका सहचालकको मृत्यु भएको छ भने १२ जना यात्री घाइते भएका छन्।
पोखराबाट गुल्मी तम्घास जाँदै गरेको १ ख ८१७५ नम्बरको बस गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा बसका सहचालकको मृत्यु भएको हो। उक्त दुर्घटनामा परेर घाइते भएका जुम्लाको ताल्चा घर भई हाल बुटवल बस्दै आएका बसका सहचालक ३५ वर्षीय युवराज कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
सो दुर्घटनामा परेर १३ यात्रु घाइते भएका थिए। दुर्घटनामा घाइते भएका ११ जनाको पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। सामान्य घाइते भएका एक जनाको रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भएका छन्।
बस दुर्घटनामा परेर स्याङ्जाको बालिङका २८ वर्षीय मनोज वाल्यालको बायाँ खुट्टामा चोट लागेको छ। उनी सवारी चालक समेत हुन्। त्यस्तै स्याङ्जाका २७ वर्षीय खेमराज लम्साल, कास्कीका २३ वर्षीय रोशनी नेपाली, गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ का ३० वर्षीय रीता विश्वकर्मा, छत्रकोट गाउँपालिका-३ का ४२ वर्षीय शान्ति परियार घाइते भएका छन्।
रुरुक्षेत्र गाउँपालिका-३ का २३ वर्षीय सुशीला नेपाली, २३ वर्षीय गंगा नेपाली रेसुंगा नगरपालिका- १० का केशव अर्याल र इन्द्रा सुवेदी घाइते भएका छन्। गुल्मी दरबार गाउँपालिका-२ का २० वर्षीय ओम बहादुर बलाल र डडेलधुरा नवदुर्गा गाउँपालिका-२ का राज बहादुर साउद घाइते भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
बस सडकबाट अन्दाजी ५०(६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा १३ जना सवार रहेका थिए।