पोखरा, ३ जेठ २०८१/
मकवानपुरमा गएराति ट्याक्टरसंग स्कुटर ठोक्किँदा हेटौडाका एक जना स्टेसनरी व्यवसायीको मृत्यु भएको छ। बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान–चतरा सडक खण्डमा ना ७ त २२५९ नम्बरको रड लोड भएको ट्याक्टरसंग ना ६६ प ९३०३ नम्बरको स्कुटर ठोक्किंदा हेटौंडाका ४५ वर्षीय स्टेसनरी व्यवसायी केशब प्रसाद मुडभरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवाननपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। उनी विद्यालय सञ्चालक र स्टेसनरी व्यवसायी समेत हुन्। उनले केही वर्ष पत्रकारितासमेत गरेका थिए।
प्रहरीले राति नै घटनास्थलबाट ३ किलोमिटर उत्तरतर्फ भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्रि सडक खण्डमा रोकिराखेको ना ७ त २२५९ नम्बरको रड लोड भएको ट्याक्टर नियन्त्रणमा लिएको छ।
चालक फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ।