पोखरा, २६ बैशाख २०८१/
जुम्लामा भालुले लखेट्दा भीरबाट लडेर दाजुभाइका ७० वटा भेडा मरेका छन् ।
जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका हुन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा मंगलबार राति भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए ।
मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरूका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् । ३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाइ घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् ।
पीडित रावत दाजुभाइलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।