पोखरा, २३ बैशाख २०८१/
डडेल्धुरामा गएराती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर शनिबार राति साढे १० बजे नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। ट्याक्टर सडकबाट २५० मिटर थल खसेको प्रहरीले बताएको छ।
उक्त ट्याक्टर दुर्घटनामा परेर चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
सोही दुर्घटनामा परेर धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।