पोखरा, १२ बैशाख २०८१/
झापामा आज एकाबिहानै कार र मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सीसीको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को बोलेरो बिहान ५ः३० बजे झापाको शिवसताक्षी–८ झिलझिलेमा एक आपसमा ठोक्किंदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले दिएको जानकारी अनुसार, मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै र एकजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको हो । मृतकको तत्काल नाम थर वतन खुल्न सकेको छैन । दुईजना अन्दाजी २५ वर्षका र एकजना १६ वर्षको रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल ,बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।