पोखरा, ११ बैशाख २०८१/
आज एकाबिहानै धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनयकुमार यादवको मृत्यु भएको छ। रेडियो धनुषाधामका सञ्चालक समेत रहेका इन्युज ब्युरोका कार्यकारी सम्पादक यादव चढेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा आज बिहान करिब ४ बजेअनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा हुन् ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ । मृतक सञ्चारकर्मी यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।