पोखरा, २८ चैत २०८०/
दाङमा गएराती रात्री बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन्।
तुलसीपुरबाट काठमाडौँ जाँदै गरेको ना ६ख १४८६ नम्बरको रात्रिबसले गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु.४१प ८०९२ न को मोटरसाइकललाई घोराही उपमहानगरपालिका– १७ बेलबासस्थित सिस्नेखोलाको ओरालोमा ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर गएराति नौ बजे घोराही उपमहानगरपालिका– १७ घर भएका २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका ओलीको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका तुलसीपुर उपमहानगरपालिका– ११ बेलदमारका ३५ वर्षीय शरद लामिछाने घाइते भएका छन। उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमै उपचार भइरहेको छ।
ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।