पोखरा, २८ चैत २०८०/
गलैंचा बेच्ने क्रममा लमजुङ पुगेका एक जना जुम्ली मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन् भने उनका अन्य तीन जना साथीहरुलाई प्रहरीले अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको छ।
सुन्दरबजार नगरपालिका–९ भोटेवडार फुलबारी नजिकै मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर जुम्लाको सिंजा गाउँपालिका–१ घर भई फुलबारी बस्दै आएका अन्दाजी ४५ बर्षिय नन्द बहादुर आचार्य बेपत्ता भएका हुन् ।
गलैँचा ब्यापारी रहेका आचार्य सहित ४ जना साथिहरु मिलेर मंगलरबार दिउँसो मर्स्याङ्दी नदीमा नुहाउन गएका थिए । साथिहरुसँग पौडी खेल्ने क्रममा करिब सवा १ बजेतिर उनलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोहि सिंजा गाउँपालिका–१ घर भएका ३४ बर्षिय पूर्णबहादुर राउत, ४२ बर्षिय जनक राउत र ४१ बर्षिय नन्द बहादुर शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । बेपत्ता भएका आचार्यको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।