अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा झापाबाट एक युवा पक्राउ परेका छन्। दमक नगरपालिका-१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो।
पत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार एकसय ३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिन्छ। वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ। उनले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ।
नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।