पोखरामा गएराती एक ट्रयाक्टर सडकबाट तलब खस्दा ट्याक्टरका सहचालकको मृत्यु भएको छ। कास्कीको मादी गाउँपालिकास्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ जाँदै गरेको ग१त ६०६७ नम्बरको ट्याक्टर पोखरा १३ काहुँखोलामा गएराति सडकबाट अन्दाजी ५० मिटर तल खसेर भएको दुर्घटनामा सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका सहचालक तनहुँ घर भई हाल पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय सुजन नेपालीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक सोमबहादर कामीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, लमजुङको बेंसीशहरमा मध्यरात रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार १ युवकको मृत्यु भएको छ ।
झापाको गौरदह नगरपालिका ५, बालुवाथान घर भइ हाल बेंसीशहर नगरपालिका ३, रानीकुवा बस्ने २५ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको हो प्रहरीले जनाएको छ । उनी आफ्नो दिदीसंग बस्दै आएका थिए ।
बेंसीशहर नगरपालिका ७, गैरीधारा नजिकै सडकमा रोकेर राखेको ग१त ३८४२ नम्बरको ट्याक्टरमा शनिबार राती ११ः३५ बजेतिर ना४७प ६४६९ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक श्रेष्ठ गम्भीर भाइते भएका थिए ।
टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई लमजुङ अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताउनुभयो । उहाँका अनुसार दुर्घटनापछि श्रेष्ठलाई तत्काल अस्पताल लगिएको र उपचारको क्रममा मध्यरात १२ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीले मोटरसाइकलमा श्रेष्ठ एक्लै रहेको बताएको छ ।
रातको समयमा तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भइ ट्याक्टरमा ठोक्किन गएको हुन सक्ने प्रहरीले जनाएको छ । श्रेष्ठको शव पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको छ । प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस