लमजुङमा यात्रुबाहक जिपबाट खसेर एक बालकको मृत्यु भएको छ । लमजुङको बेसीशहर नगरपालिका ३ गाउँशहरबाट शुक्रबार अपरान्ह उदीपुरतर्फ जाँदै गरेको ग१ज ७१०१ नम्बरको बोलेरो जिपबाट खसेर बेसीशहर ३ गाउँशहर मिलनटोलका ६ वर्षीय उज्वल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त जिप डुम्रे–बेंसीशहर सडक खण्डमा पर्ने बेंसीशहर नगरपालिका ३, धुवाँखोला नजिकै पुग्दा विपरित दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा व्याक गर्दा पछिल्लो भागमा रहेका बालक जिपबाट खसेका प्रहरीले जानकारी दिएको छ ।
उक्त जिपबाट खसेर गम्भीर घाइते भएका बालक विकलाई उपचारका लागि तत्काल लमजुङ अस्पतालमा लगिएकोमा अपरान्ह साँढे ४ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार जिप चालक बेसीशहर नगरपालिका ३, गाउँशहर थापाटोलका २३ वर्षिय सन्देश बोहरालाई नियन्त्रणमा लिएको छ । बोलेर जिपलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।