सात वर्ष अघि रहेको प्रेम सम्बन्धलाई लत्याएर अर्कैसंग बिबाह गरेको भन्दै सल्यानका एक युवाले आफ्नो पूर्व प्रेमिका र उनकी नौ महिनाको छोरीको हत्या गरेका छन्। सल्यानको सिद्धकुमाख–२ खानिगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेतले आफ्नो पूर्व प्रेमिका त्रिवेणी गाउँपालिका –२ की ३२ वर्षीय रेवती थापा र उनको नौ महिनाकी छोरी ऋतुको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्कीका अनुसार, सात वर्षअघि प्रेममा परेर शारीरिक सम्बन्ध समेत भैसकेकी रेवतीले अर्कैसंग बिबाह गरेको थाहा पाएका बस्नेत गएको भदौ २६ गते घर फर्किएका थिए। उनी नेपाल फर्किएलगत्तै २९ गते आफ्नो प्रेमिका त्रिवेणी गाउँपालिका –२ स्थित रेवतीको घरमा पुगेर आमा छोरीको हत्या गरेको प्रहरीको भनाइ छ ।
भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका –२ मा ३२ वर्षीय रेवती थापा र उनको नौ महिनाकी छोरी ऋतुको शव शरीर आधा जलेको अवस्थामा फेला परेको थियो । आमाछोरीको हत्या गरे पश्चात अभियुक्त बस्नेतले प्रमाण लुकाउन ‘कोठामा आगो लागेर मृत्यु’ भएको देखाउन आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख कार्कीले बताए ।
घटना शङ्कास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि यसमा सहयोग गरिरहेको थियो । आमाछोरी उक्त घरमा बस्दैआएका थिए । रेवतीका श्रीमान् शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा रहेको र श्रीमती तथा छोरीको हत्याको खबरपछि उनी फर्किएको प्राप्त जानकारीमा उल्लेख छ।